सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १४औँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । शनिबार हुने म्याराथनको सबै तयारी पूरा भएको आयोजक संस्था भूतपूर्व खेलाडी मञ्च नेपालले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

म्याराथन प्रतियोगितामा १३ देशका २१ जनासहित सय जनाभन्दा बढी सहभागी हुने मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । प्रतियोगितामा पूरा म्याराथनसहित महिला र पुरुष दुवैतर्फ १० किलोमिटर, छात्रछात्राको पाँच किलोमिटर, दृष्टिविहीन पुरुष र महिला, ह्वीलचेयर र रन फर फनमा गरी सात हजारले सहभागिता जनाउने मञ्चका प्रथम उपाध्यक्ष हरिप्रसाद पराजुलीले बताए । अघिल्लो संस्करणमा पाँच हजारले सहभागिता जनाएका थिए ।

करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेताले दुई लाख, दोस्रोले एक लाख र तेस्रो हुने खेलाडीले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । महिला र पुरुष दुवैतर्फका १० हजार मिटर दौडका विजेताले १५ हजार रुपैयाँ, पाँच किलोमिटर दौड छात्र र छात्राका विजेताले समान १० हजार, दृष्टिविहीन पुरुष र महिला विजेताले पाँच हजार र ह्वीलचेयरका विजेताले पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताका लागि पोखरेली मञ्च युकेको सात लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

मुख्यमन्त्री गुरुङ पनि दौडने
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, प्रदेश सरकारका मन्त्रीहरू, सांसदहरू, मेयर मानबहादुर जिसीलगायत अन्य जनप्रतिनिधिले समेत सहभागिता जनाउने भएका छन् ।

यस्तै प्रतियोगितामा पोखरासँग भगिनी सम्बन्ध रहेको जापानको कोमागाने सहरका उत्कृष्ट धावक पनि सहभागी हुन पोखरा आइपुगेको अध्यक्ष गुरुङले जानकारी दिए । विदेशी धावकहरूको नेतृत्व भने युनेस्कोका पूर्वअध्यक्ष डेभिडसन हेप्वर्नले गर्ने छन् । म्याराथनको रुटमा अति आवश्यकबाहेकका अन्य सार्वजनिक र निजी यातायातका साधन सञ्चालन नगर्ने प्रतिबद्धता यातायात व्यवसायीहरूले गरेका छन् ।

Source: https://www.nayapatrikadaily.com/news-details/36268/2020-02-13