पोखरा न्यूज – ०३ ,फागुन । पोखरा म्याराथनको अवसरमा शनिबार हजारौं व्यक्ति पोखराको सडकमा उत्रिएका छन्।
भूतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा संचालन भएको म्याराथन सहितको विभिन्न दौड एवं रन फर फनमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ, प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश सांसद राजिव पहारी, दीपक कोइराला, मोहन रेग्मी, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी लगायतका व्यक्तिहरु दौडमा सहभागि भए
मुख्यमन्त्री गुरुङसहितको एक टोलीले ५ किलोमिटर सडक दौड पुरा गरेको छ । पोखरामा पर्यटन, खेलकुद प्रवर्द्धन गर्न दौड आवश्यक भएको मुख्यमन्त्री गुरुङले बताए । पोखरा पर्यटकीय र खेलकुदको राजधानी पोखरामा यस्ता खेलकुद गतिविधि आवश्यक भएको उनले बताए । मुख्यमन्त्री गुरुङले भने “ मेरो जिवनमै पहिलो पटक आज ५ किलोमिटर दौड पुरा गरे, यो मेरो लागि अहिलेसम्मकै बढी हो । ”
तस्बिरमा हेर्नुहोस् पोखरा म्याराथनका केही झलकहरु:- तस्बिर-दीननाथ बराल
Source: Pokharanews.com
‘भूतपूर्व खेलाडी मञ्चले १३ औं संस्करणसम्म सहयोग जुटाएरै अन्तर्राष्ट्रिय स्तरको म्याराथन गरिसकेको छ । अब प्रदेश सरकार बनिसक्यो । जुन पोखरा नामलाई ब्राण्ड बनाउँदै यति ठूलो प्रतियोगिता भइरहेको छ । पोखरा महानगरले नै अब सञ्चालन गर्नुपर्छ । गण्डकी प्रदेश सरकारले पनि सञ्चालन गर्न अग्रसर हुनुपर्छ । यसबाट प्राप्त प्रतिफलको हिसाबमा ३५–४० लाख रुपैंया ठूलो होइन, । त्यसैले मैले प्रदेशसभामा पनि कुरा उठाएको हुँ ।’ गण्डकी प्रदेशका सांसद राजिव पहारीले सफल पोखरा म्याराथनका आयोजकसँग होटल तथा पर्यटन व्यवसायीमाझ भनेका कुरा हुन् यी ।
‘शान्ति र स्वास्थ्यका लागि’ मूल नारासहित फागुन ३ गते पोखरामा हुने म्याराथन सफल बनाउन आयोजक भूतपूर्व खेलाडी मञ्चले पोखरा महानगरका विभिन्न सरोकारवाला संघसंस्था, वडा, आमा समूह, टोल विकास समितिको भेला आयोजना गरिरहेको छ । यसै क्रममा पोखराको लेकसाइडमा होटल तथा पर्यटन व्यवसायीमाझ मञ्चले कार्यक्रमबारे जानकारी गराएको हो ।
पोखरा म्याराथनका परिकल्पनाकार तथा सल्लाहकार गणेश भट्टराईले पूर्व खेलाडीको संस्थाले यति ठूलो कार्यक्रम आयोजना गर्दा आशा गरेअनुरुप सरकारी तबरबाट सहयोग नमिलेको गुनासो गरे ।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखरा प्रमुख काशीराज भण्डारी, आजीवन सदस्य भरतराज पराजुली, टान पश्चिमाञ्चल अध्यक्ष हरि भुजेल, नाट्टा पोखराका प्रथम उपाध्यक्ष संजयकान्त सिग्देल, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराई, एनएमए गण्डकी सचिव सुदिप गौतम, हान पोखरा प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदी, नेपाल पर्यटन बोर्ड पूर्व सदस्य बासु त्रिपाठी, भिजिट नेपाल २०२० सदस्य अग्नी कँडेल, रेवान पोखराका लक्ष्मण बराल, वडा सदस्य हरिकृष्ण पहारी लगायतले सुझाव तथा प्रतिबद्धता व्यक्त गरेका थिए ।
अन्तरक्रियात्मक कार्यक्रममा मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विगतका गतिविधि र अब हुने म्याराथनका बारेमा सदृश्य प्रकाश पारेका थिए । त्यसपछि सांसद पहारीका साथै होटल तथा पर्यटन व्यवसाय सम्बद्ध संघसंस्थाका पदाधिकारी, प्रतिनिधिले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
अध्यक्ष गुरुङले पोखराको पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका पोखरा म्याराथनले खेलिरहेको उनको तर्क थियो । यसपालिको म्याराथनको विश्व शान्ति सद्भाव दौडमा सहभागि हुन युनेष्कोका पूर्व अध्यक्ष डेभिड्सन लिन्कोनसहितको टोली आउने उनले जानकारी दिए । १४ औं संस्करणको पोखरा म्याराथनमा ‘वल्र्ड पिस रन’ का धेरै सदस्यहरुले पोखरा म्याराथनलाई शान्तिका लागि दौडका रुपमा उपयोग गर्ने आयोजकले बताएको छ । यस अभियानका लागि १३ देशका २७ भन्दा बढीको सहभागिता रहने अन्तरक्रियामा जानकारी दिइयो ।
यस पटकको पोखरा म्याराथनलाई खेलकुदमार्फत विश्वमा शान्ति फैलाउन सकिन्छ भन्ने मान्यतालाई समेत उपयोग गरिदैंछ । यसै संस्करणको पोखरा म्याराथनमा ‘शान्तिका लागि दौड’ मा १३ देशका १७ जना विदेशी धावकहरुले विश्वमा शान्ति फैलाउने उद्देश्यले दौडने भएका छन् । उनीहरुले पिस रनको टर्च सहित दौडने शान्तिका लागि दौडका नेपाल संंयोजक श्वेता प्रधानले बताइन् । प्रधानका अनुसार विश्वको १ सय ५० भन्दा बढि देशमा विश्व शान्तिका लागि पिस रन टर्च बालिसकिएको छ । नेपालमा सन १९९४, १९९८ र २०१८ को वर्षहरुमा पिस रन टर्चको प्रदर्शन गरिएको थियो । यस संस्करणको म्याराथनमा पनि उक्त पिस रन टर्च पोखरा ल्याइनेछ ।
पोखरालाई म्याराथन शहरको रुपमा विश्वमा परिचित गराउन तथा विदेशी धावकहरुलाई आकर्षित गर्न पुरस्कारको राशीमा वृद्धी गरिएको छ । जसमा यस पटक ४२.१९५ किमीको पोखरा म्याराथनमा प्रथम हुनेलाई २ लाख नगद प्रदान गर्ने जनाएको छ । त्यसगरी, दोश्रो र तेश्रो हुनेलाई क्रमशः नगद १ लाख र ७५ हजार प्रदान गरिनेछ भने भने चौथो हुनेलाई नगद १५ हजार प्रदान गरिनेछ ।
प्रथम हुनेलाई भूतपूर्व खेलाडी मञ्चको अन्तराष्ट्रिय सहयोगी संस्था पोखरेली मञ्च यूकेले यहि अप्रिल २०२० मा हुने बेलायतको एक म्याराथनमा सहभागी गराउने समेत घोषणा गरेको छ ।
पोखरा म्याराथन १० किलोमिटर महिला–पुरुष, ५ किलोमिटर छात्र–छात्रा, ह्विल चियर र दृष्टीविहिनका लागि दौडलाई निरन्तरता दिइएको छ । १० किलोमिटर तर्फको दौडमा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमशः नगद १५, १० र ५ हजार र ५ किलोमिटर तर्फ १०, ५ र ४ हजार प्रदान गरिनेछ । महिला–पुरुष ह्विल चियर र दृष्टीविहिन दौडका लागि समेत ५, ३ र २ हजार प्रदान गरिने मञ्चले जनाएको छ । पोखरा म्याराथनमा कूल २८ जना धावकहरुलाई पुरस्कृत गरिने छ ।
मंचले यस पटक प्रविधिलाई उपयोग गर्दै खेलाडी दर्ता समेत अनलाइनबाट गर्ने जनाएको छ । पोखरा म्याराथनको www.pokharamarathon.org अनलाइन र मोबाइल एप्स बाट समेत खेलाडीले सहभागिताका लागि नाम दर्ता गर्न सक्नेछन् ।
Source: https://www.gandaknews.com