पोखरा, फागुन ३ । १४औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जापानका धावक यत्सुके थाकानाशीले जितेका छन् ।

शनिबार भएको म्याराथनको निर्धारित् दूरी दुई घन्टा २६ मिनेट ५१ सेकेन्डमा पूरा गरी उनले उपाधि जितेका हुन् ।

थाकानाशी पोखरा म्याराथन जित्ने पहिलो विदेशी खेलाडी बनेका छन् । उपाधिसँगै उनले दुई लाख रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगितामा सशस्त्र प्रहरीका किरण बोगटी दुई घन्टा २८ मिनेट ०८ सेकेन्डमा दूरी पूरा गरी दोस्रो भए ।

भारतीय सेनामा कार्यरत् पर्वतका अनिष थापाले दुई घन्टा २९ मिनेटमा दूरी पूरा गरी तेस्रो भए ।

दोस्रो भएका बोगटीले एक लाख र तेस्रो भएका थापाले ७५ हजार रुपैयाँ पाए ।

१० किलोमिटर दौड पुरुषतर्फको प्रतिस्पर्धामा स्याङ्जाका पूर्णबहादुर कार्की पहिलो, मोरङका याङदेव राई दोस्रो र पर्वतका आशिष कुँवर तेस्रो भए ।

१० किमि महिलातर्फ पहिलो इन्द्रकला राई, दोस्रो अनिता राई र अमेरिकी धावक वेन्डी तेस्रो स्थानमा रहिन् ।

१० किमि दौडमा पुरुष–महिला दुवैतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः समान १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ पुरस्कार पाए ।

पोखरा म्याराथनमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ ‘रन फर फन’मा सहभागी भएका थिए ।

भूतपूर्व खेलाडी मञ्च नेपालले प्रतियोगिता आयोजना गरेको हो ।

Source: https://www.imagekhabar.com/news/28034/sports