
पोखरा । यहि फागुन ३ गते पोखरामा आयोजना हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउने दायित्व आयोजकको मात्रै नभई हरेक नागरिक र सरकारको समेत उत्तिकै दायित्व रहेको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताएका छन । भुतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गरेको म्याराथन विषयक अन्तरक्रियामा यस्तो कुरा मन्त्री गुरुङले बताएका हुन् ।

पोखरा म्याराथन पोखरा र प्रदेशकोमात्र नभई नेपालकै पहिचान भएको कुरामा जोड दिंदै मन्त्री गुरुङले म्याराथनले अब पोखराको मात्र पहिचान नबनाई अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान बनाउँन सबै क्षेत्रबाट साथ दिन उनले आग्रह समेत गरे । उनले भने–“यसलाई अझ बृहत बताउन सबैले पहल गरौं ।” वर्षको एक दिन सहभागितामात्र नसोचि स्वास्थ्यका लागि दौडने वातारण बताउन तर्फ लाग्नुपर्ने उनको जोड थियो । म्याराथनलाई साथ दिन प्रदेश सरकार संरक्षकको भुमिकामा रहने पनि मन्त्री गुरुङले बताए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले म्याराथनलाई महानगरको पूर्ण साथ रहने प्रतिवद्धता व्यक्त गरे । उनले भने–“पोखरामा ७ हजार मात्रै होइन १४ हजार दौडिनुपर्छ र यसलाई सफल बनाउन पर्छ ।” उनले पोखरा भगिनी सम्वन्ध रहेका शहरहरुमा यसको प्रचार प्रसार र सहभागिताका लागि पत्रचार समेत गरिएको जानकारी दिए ।
त्यस्तै मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले मञ्चले गरेको ऐतिहासिक कार्यको बारेमा जानकारी दिएका थिए ।
अन्तरक्रियामा मञ्चका अध्यक्ष तेज गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विगतका गतिविधि र अव हुने म्याराथनका बारेमा प्रकाश पारेका थिए । शान्ति र स्वास्थ्यका लागि खेलकुद भन्दै पर्यटन प्रवर्धनमा ठुलो भुमिका पोखरा म्याराथनले खेलिरहेको उनको तर्क थियो । यसपालिको म्याराथनको विश्व शान्ति सद्भाव दौडमा सहभागि हुन युनेष्कोका पूर्व अध्यक्ष डेभिडसन हेप्बोन लिंकन डेभिड्सन लिन्कोनसहितको टोली आउने मञ्चका अध्यक्ष गुरुङले जानकारी दिए ।

१४ औं सस्करणको पोखरा म्याराथनमा ‘वल्र्ड पिस रन’ का धेरै सदस्यहरुले पोखरा म्याराथनलाई शान्तीका लागि दौडका रुपमा उपयोग गर्ने आयोजकले बताएको छ । यस अभियानका लागि १३ देशका २७ भन्दा वढीको सहभागिता रहने छन । यसै पोखरेली मंच यूकेको नेतृत्वमा एक टोली यूके बाट सहभागिताका लागि आउनेछ भने हङकङ, अमेरिका, जापान लगाएत अन्य देशहरुबाट सहभागिताका लागि आउने भएका छन ।
पोखरालाई म्याराथन शहरको रुपमा विश्वमा परिचित गराउन तथा विदेशी धावकहरुलाई आकर्षित गर्न पुरुस्कारको राशीमा वृद्धी गरिएको छ । जसमा यस पटक ४२.१९५ किमीको पोखरा म्याराथनमा प्रथम हुनेलाई २ लाख नगद प्रदान गर्ने जनाएको छ । त्यसै गरि दोश्रो र तेश्रो हुनेलाई क्रमश नगद १ लाख र ७५ हजार प्रदान गरिने छ भने भने चौथो हुनेलाई नगद १५ हजार प्रदान गरिने छ ।

पोखरा म्याराथन १० किलोमिटर महिला–पुरुष, ५ किलोमिटर छात्र–छात्रा, ह्विल चियर र दृष्टीविहिनका लागि दौडलाई निरन्तरता दिइएकोछ । १० किलोमिटर तर्फको दौडमा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश नगद १५, १० र ५ हजार र ५ किलोमिटर तर्फ १०, ५ र ४ हजार प्रदान गरिनेछ । महिला–पुरुष ह्विल चियर र दृष्टीविहिन दौडका लागि समेत ५, ३ र २ हजार प्रदान गरिने मंचले जनाएको छ । पोखरा म्याराथनमा कूल २८ जना धावकहरुलाई पुरस्कृत गरिने छ ।
मंचले यस पटक प्रविधिलाई उपयोग गर्दै खेलाडी दर्ता समेत अनलाइन बाट गर्ने जनाएकोछ । पोखरा म्याराथनको www.pokharamarathon.org अनलाइन र मोवाइल एप्स बाट समेत खेलाडीले सहभागिताका लागि नाम दर्ता गर्न सक्नेछन् ।
तस्बिरः मनिलाल गुरुङ
Leave a Reply
Want to join the discussion?Feel free to contribute!